चैत महिना शुरुभएसंगै सुदूरपश्चिमभरी भिटौलो गर्ने चलन अनुसार दीदीबहिनीहरुलाई भेट्ने कार्यक्रममा दाजुभाईहरु व्यस्त छन् ।
भाइ बैनीको प्रेम पर्व ‘भिटौलो’ खास गरेर बैतडी, दार्चुला र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीहरुलाई माइती पक्षका तर्फबाट दाजुभाईहरुले भेट्ने चलन रहेको स्थानीय जानकाहरुले बताएका छन् ।
‘चैत महिना खडेरीको महिना पनि हो, यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीहरुलाई माईतीहरुले खानेकुरा लगेर भेट्ने चलन रही आएको पाटनका संस्कृतिप्रेमी बिष्णुदत्त जोशीले जानकारी दिनुभयो ।
भारतको कुमाउँमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछी व्यस्तताका कारण भेट्न नपाएको सत्य कथा संग यो भिटौलो अर्थात् चेलीबेटीहरुलाई भेट्ने चलन जोडिएको उनले बताए ।
दाजुले आफ्नी बहिनीलाई भेट्न नसकेपछी बहिनी भोकले मरेको र पछी सबै दाजुभाईले आफ्नी दिदीबहिनीलाई चैत महिनाभरी अनिवार्य रुपमा भेट्ने चलन रहीआएको उनले बताए ।
यो महिनाभरी एकरात दिदिबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाई र दिदीबहिनी बहिनीको सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने जोशीको भनाई छ ।
दाजुभाई नभएकाहरुका दिदीबहिनीहरुलाई नजिकका दाजुभाईहरुले भेट्ने चलन रही आएको छ । अहिले गाउँ देखि शहरसम्म दिदीबहिनीहरुलाई भेट्न जानेको चहल पहल बढेको छ ।
सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकारहरुले बताएका छन् ।

Comments
Post a Comment